भुकम्प प्रभावित रामेछापको दुरागाउँ गाविसमा पहिरो चल्यो ।।

ramechhap_district

असार ५,रामेछाप
भुकम्पको कारण सबैभन्दा मानिसहरुको ज्यान गएको रामेछापको दुरागाउँ गाविसमा भूकम्प पछि पहिरो जान सुरु भएको छ । विहिबार रातिबाट पानी पर्न लागेपछि दुरागाउँगाविसमा पहिरो चल्न लागेको हो । पहिरोको कारण दुरागाउँ गाविस–१ को होपिनाका ४४ घर परिवार जोखिममा परेका छन् । माथिबाट पहिरो चल्न थालेपछि शुक्रबार विहानदेखि होपिनाबासीहरु अस्थायी टहरा छाडेर गाउँ नजिकैको सुरक्षित स्थानमा निस्किएर बसेका छन् । स्थानीय चेतकुमार खड्काले दिएको जानकारी अनुसार विहानदेखिनै गाउँको माथिबाट पहिरो आउन लागेपछि स्थानीयहरु अस्थायी टहरा पनि छाडेर निस्किएका छन् । गाउँको माथिबाट पहिरो खसेपछि गाउँलेहरुको भागदौड चलेको थियो । ‘माथिबाट पहिरो आउन लागेपछि सबै जना बाहिर निस्किएका कहाँ जाने ठेगान छैन – उहाँले भन्नुभयो । पहिरोको कारण दुरागाउँ–६ को रुपीडाँडाको १७ घर परिवार पनि जोखिममा परेको छ । सो गाउँमा वस्तीको मुनिबाट पहिरो चलेको स्थानीय शिक्षक जनार्दन घिमिरेले जानकारी दिनुभयो । पहिरोको कारण १७ घर परिवार जोखिममा परेको उहाँले बताउनु भयो । पहिरो बढ्दै जाँदा सो गाविसको ६ नं र ५ नं वडाका अन्य वस्तीहरु समेत जोखिममा पर्ने अवस्था रहेको उहाँको भनाई छ । गएको बैशाख १२,१३ र २९ गते गएको भूकम्पको कारण रामेछापको दुरागाउँ गाविस सबैभन्दा बढी प्रभावित भएको भएको थियो । सो गाविसमा भूकम्पमा परि गाविसमा ८ जनाको मृत्यु भएको थियो । त्यहाँका सबै घरहरु भत्किएका छन् । गाविस भरिनै जमिन ठाउँठाउँमा चिरापरेर फुटेको छ । पानी पर्न लागेसँगै गाउँमा पहिरोको खतरा बढेको छ ।

Advertisements
%d bloggers like this: